धादिङ —नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिएका योजना, सेवा प्रवाहको अवस्था, बजेटको उपयोग, र नगरवासीलाई दिइएका सेवा–सुविधाबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूबाट प्रत्यक्ष रूपमा गुनासो, जिज्ञासा र सुझावहरू संकलन गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख ढुंगानाले “नागरिकको प्रत्यक्ष सहभागिता नै लोकतन्त्रको आधार हो” भन्दै नगरपालिकाको सेवा प्रवाहलाई आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई नागरिकको आवाज सुन्ने सशक्त माध्यमको रूपमा लिँदै जनताले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो। साथै, स्थानीय तह र जनताको सम्बन्ध अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिने पनि बताउनुभयो।
कार्यक्रममा उप–प्रमुख दिपक विश्वकर्माले सेवा प्रवाहमा केही कमजोरीहरू रहेको स्वीकार गर्दै सुधारका पहलहरू थालिएको जानकारी दिनुभयो। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, र पूर्वाधार विकासमा अझ गम्भीर भएर लाग्ने बताउँदै उहाँले “नागरिकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो” भन्ने धारणा व्यक्त गर्नुभयो।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले स्वास्थ्य सेवा, खानेपानी, सडक निर्माण र शिक्षा क्षेत्रमा असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारको माग गरेका थिए।
कार्यक्रममा उठाइएका प्रश्नहरूको नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले प्रत्यक्ष रूपमा जवाफ दिनुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।