धादिङ //मकवानपुर प्रहरीले १४ किलो चरेससहित पक्राउ गरेका दुईजनालाई आइतवार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय केदार तामाङ र सोही स्थान बस्ने ३६ वर्षीय सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडा–१५ रातमाटेस्थित प्रहरी चौकी रातामाटेले शुक्रवार साँझ सवारी जाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुवाहक बसबाट उनीहरूलाई चरेससहित पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएको हो।रासस