नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ ७, सोमबार (२ हप्ता अघि)
  • ६६ पटक पढिएको

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाउनुभयो ।

“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छाैँ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असम्लग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छाै ।

भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरुपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्काे पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।”

उहाँले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरुलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररुपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस