नाबुखो–पिपलमोड़ सडकखण्डमा राति ११ बजेपछि सवारी आवागमन रोक

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ बैशाख २२, सोमबार (१ महिना अघि)
  • १८८ पटक पढिएको

Post Thumbnail

नाबुखो–मुग्लिन सडक योजनाको पूर्वी खण्ड अन्तर्गत त्रिभुवन राजमार्गको नाबुखो–पिपलमोड़ खण्डमा निर्माण कार्यका कारण सवारी आवागमन अस्थायी रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धादिङले एक सूचना प्रकाशित गर्दै बैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११:०० बजेदेखि बिहान ३:०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने जानकारी गराएको हो।

नाबुखोदेखि पिपलमोड़सम्मको करिब ९.५ किलोमिटर सडक खण्डमा स्तरोन्नति कार्य भइरहेको हुँदा यात्रुको सुरक्षा र कामको सहजतालाई ध्यानमा राख्दै रातको समयमा सवारी बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

निर्धारित अवधिमा काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीका लागि खरपीबास बजार र झोँलेख स्थानलाई रोक्का स्थान बनाइएको छ भने मुग्लिनबाट काठमाडौँतर्फ आउने सवारी साधनका लागि कुरिनटार पुल र पिपलमोड़ बजारलाई रोक्का स्थान तोकिएको छ।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गमा त्रिशूली–धादिङबेँसी–गजुरी, साँगाचोक–टारे–गोर्खाटार–बिर्खे–त्रिशूली सडक तथा अन्य उपयुक्त वैकल्पिक मार्गहरू समावेश छन्।

प्रशासनले यात्रु तथा सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै आवश्यक समन्वय तथा सुरक्षात्मक उपायहरू अपनाइने बताएको छ। साथै, तोकिएको समयबाहेक अन्य समयमा सवारी आवागमन सशर्त रुपमा सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस