कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादीलाई पहिलो दल बनाइदिन जनतालाई अपिल गरेका छन् ।
कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो दल बनाए भ्रष्टाचारका सबै फाइल खोल्ने बिफ्रिङ गरेका हुन् ।
अध्यक्ष दाहालले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ दाहालले भने, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’
आफू नेतृत्वको सरकारले सरकारले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको स्मरण गराउँदै उनले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग शुरु हुने दाबी गरे ।