काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि सडक र सदन दुवै ठाउँमा आवाज उठाउने आश्वासन दिएका छन्।
आज चितवनमा आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका हुन्। प्रचण्डले संघले राखेका माग कार्यान्वयनका लागि आफू तयार भएको बताए।
‘एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म प्रतिबद्ध छु। यसमा सडक र सदन दुवै ठाउँबाट सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ’, उनले भने।
पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे। उनले पार्टी मातहतका जनवर्गीय संगठनहरूलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताए।
कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, संघका कानुनी सल्लाहाकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा. दयाराम लम्साल, प्रताप देवकोटा, नेशनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राखेका थिए।
संघका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए।(स्रोत :थाहा खबरबाट)