धादिङ।जेठ ७ – धादिङ जिल्लाको प्रमुख स्वास्थ्य संस्था धादिङ अस्पतालमा पहिलो पटक एन्डोस्कोपी सेवा सुरु गरिएको छ। विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गर्ने रणनीति अनुसार मंगलबारदेखि औपचारिक रूपमा यो सेवा सुरु गरिएको हो।
काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ डा. रोमी दाहालको नेतृत्वमा सुरु गरिएको एन्डोस्कोपी सेवा शरीरको भित्री अंगहरू—जस्तै पेट, आन्द्रा, घाँटी आदिको परीक्षण गर्न अत्यावश्यक मानिन्छ। अस्पतालका निर्देशक डा. गगन अधिकारीका अनुसार एन्डोस्कोपी सेवा सुरु भएसँगै अब पेट दुखाइको कारण पत्ता लगाउने, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्ने, जीवाणु परीक्षण तथा नमूना (बायोप्सी) संकलन गर्ने, साथै सानो शल्यक्रिया (जस्तै पोलिप हटाउने) गर्न सकिनेछ।
यो सेवा सञ्चालन गर्न प्रयोग गरिने एन्डोस्कोप उपकरण एक लामो, पातलो र लचिलो नली हो, जसको अग्रभागमा क्यामेरा र बत्ती जडान गरिएको हुन्छ। यस उपकरणको प्रयोगले शरीरभित्रको भागलाई स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ।
धादिङ अस्पतालमा सेवा विस्तारका लागि बागमती प्रदेश सरकारअन्तर्गत प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले एन्डोस्कोपी उपकरण प्रदान गरेको हो। अस्पतालका निर्देशक अधिकारीले यो सेवा जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
धादिङ अस्पतालको यो सेवा विस्तारसँगै अब जिल्लाबासीले एन्डोस्कोपीको लागि राजधानी धाउनुपर्ने आवश्यकता हट्ने विश्वास लिइएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |