सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालन गर्दै आएको श्री सहिद स्मृति सञ्चार सहकारी संस्था लि.नीलकण्ठ–३ धादिङको १७ औँ वार्षिक साधारणसभा सोमबार भव्य रूपमा सम्पन्न भएको छ ।
सञ्चालक समिति अध्यक्ष मनराज भण्डारीको अध्यक्षता तथा संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक उत्तमराज कँडेल,नेपाली कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारी,विभिन्न सहकारी तथा संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त सभामा अध्यक्ष,महासचिव र कोषाध्यक्षले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिले आर्थिक अवस्थाबारे प्रतिवेदन पेश गरेको थियो । साथै आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक कार्यक्रम,नीति तथा योजना माथि छलफल गरी विभिन्न एजेन्डाहरू सर्वसम्मत रूपमा पारित गरिएको छ ।
कार्यक्रममा बोल्ने अतिथिहरूले रेडियो बिहानी गैरनाफामूलक सामुदायिक रेडियो भएकाले स्थानीय तह,संघ–संस्था,सहकारी तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सामुदायिक सञ्चारको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । सूचना,शिक्षा,चेतना र समावेशी विकासका लागि सामुदायिक रेडियोको योगदान महत्वपूर्ण रहेको सहभागीको भनाइ रहेको थियो ।
सहकारी संस्था लिमिटेडको मुख्य उद्देश्य सामुदायिक रेडियोमार्फत आम नागरिकलाई सत्य,निष्पक्ष र समयसापेक्ष सूचना तथा समाचार प्रदान गर्नु रहेको छ । साथै स्थानीय भाषा,कला,संस्कृति,परम्परा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु,सामाजिक सचेतना अभिवृद्धि गर्नु,सुशासन,विकास र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा जनचेतना फैलाउनु सहकारीद्धारा संचालित रेडियो बिहानीको प्रमुख उद्देश्य रहेको छ ।










