
धादिङ।गजुरी गाउँपालिका वडा नं.८ स्थित श्री किरान्चोक माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (बि.व्य.स.) गठनार्थ अभिभावक भेला तथा विद्यार्थीका लागि ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय श्री शालिकराम जम्कटेल रहनुभएको थियो। उहाँले विद्यालय शिक्षा सामाजिक रूपान्तरणको मेरुदण्ड भएकाले स्थानीय तह, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य गरेर विद्यालयको स्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारबाट शिक्षाको गुणस्तर सुधारमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठले गाउँपालिकाले विद्यालयहरूको भौतिक पूर्वाधार, दक्ष शिक्षक व्यवस्था र शैक्षिक गुणस्तर सुधारका लागि ठोस योजना अघि बढाइरहेको जानकारी दिनुभयो। साथै, उहाँले नवगठित समितिलाई जिम्मेवारीपूर्वक कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो।
गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले अभिभावक र शिक्षकबीच नियमित संवादको आवश्यकता औंल्याउँदै बालबालिकाको उज्ज्वल भविष्यका लागि सहकार्य गर्न आग्रह गर्नुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, अभिभावक प्रतिनिधि र स्थानीय समाजसेवीहरूले पनि मन्तव्य राख्दै विद्यालयको प्रगति र विद्यार्थीहरूको अनुशासन सुधारका विषयमा सुझाव तथा शुभकामना व्यक्त गरे।
यसै बिधालयका शिक्षक रामेश्वर पौडेलको पहलमा स्विजरल्याण्डका नागरिक नोआ कुन्जको सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई ट्र्याकसुट र झोला वितरण गरिएको हो। सहयोगी कुन्जलाई विद्यालय परिवारले विशेष धन्यवाद ज्ञापन गरेको थियो।
नवगठित विद्यालय व्यवस्थापन समितिको संरचना यसप्रकार रहेको छः अध्यक्ष: राजकुमार ढुंगाना,सदस्यहरू: प्रल्हाद बस्नेत, केदारनाथ खनाल,अन्जु पुडासैनी,शर्मिला पराजुली,सकुन्तला बराल, वडा सदस्य मिना लो, शिक्षक प्रतिनिधि सुनबहादुर तामाङ सदस्य–सचिव: गीता पाण्डे रहेका छन्।
विद्यालय परिवारले नवगठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सबै सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ।








उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

