
धादिङ, गजुरी –आदर्श बहुमुखी क्याम्पसको १९औँ सभा तथा ५औँ अधिवेशन क्याम्पस सभाहलमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले गर्नुभएको थियो।
सभामा आर्थिक वर्ष ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पारित, वार्षिक बजेट तथा कार्यक्रममाथि छलफल, वार्षिक प्रगति प्रतिवेदन पारित, तथा संशोधित विधान अनुमोदन गरिएको थियो। साथै क्याम्पस सञ्चालक समिति गठन सम्बन्धी विषयमा पनि विस्तृत रूपमा छलफल गरिएको थियो।
यसै अवसरमा संघीय सरकारबाट प्राप्त एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको दुई तल्ले नवनिर्मित पुस्तकालय भवन सघन शहरी विकास कार्यालय धादिङले क्याम्पसलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले गुणस्तरीय शिक्षा र सीप–आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो।
गजुरी गाउँपालिका–१ का वडा अध्यक्ष तारा भण्डारीले क्याम्पसले उच्च शिक्षाको पहुँच विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ सक्षम र व्यवस्थित बनाउन स्थानीय सरकार निरन्तर सहयोगी रहने बताउनुभयो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले क्याम्पसमा हाल करिब २०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै गाउँपालिकाले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।”शिक्षामा लगानी भविष्य निर्माण हो, क्याम्पसलाई नमूना शिक्षालय बनाउन सबै तहबाट सहकार्य आवश्यक छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
क्याम्पस अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले क्याम्पसलाई अनुसन्धान तथा सीपमूलक तालिमको केन्द्रका रूपमा विकास गर्ने दृष्टि प्रस्तुत गर्दै भविष्यमा विद्यार्थीले डिग्रीसँगै विषयगत सीपको प्रमाणपत्र लिएर पदवीधर हुने वातावरण बनाउन जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन प्रधानाध्यापक रमेश अधिकारीले गर्नुभएको थियो। उहाँले क्याम्पसका उपलब्धि, चुनौती तथा आगामी योजनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई प्रभावकारी र सभ्य रूपमा अघि बढाउन सहयोग पुर्याउनु भयो।
।
कार्यक्रममा स्थानीय प्रतिनिधि, शिक्षक–कर्मचारी, संघ–संस्था तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।

उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

