
गजुरी।गजुरी गाउँपालिका वडा नं. ३ स्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालय, राक्सिङको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं गजुरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारी,वडा नं.२का अध्यक्ष द्रोण कडेल, गजुरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत सन्तोष पौडेल,विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाठक,पूर्व प्रधानाध्यापकहरू,विद्यालय व्यवस्थापन समिति पदाधिकारी,शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो।
उहाँले गजुरी–८ को किरान्चोक माध्यमिक विद्यालय, गजुरी–५ को डोलभन्याङ माध्यमिक विद्यालयसँगै श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई समेत आवासीय विद्यालय बनाउने निर्णय भइसकेको जानकारी गराउँदै आगामी माघ १ गतेदेखि आवासीय रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो।
साथै, उहाँले गजुरी गाउँपालिकाले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै चुनावी प्रतिबद्धताअनुसार आफ्नो कार्यकालभित्र वडा कार्यालयसम्म पुग्ने सबै सडक पिच गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिलाल श्रेष्ठले मञ्च व्यवस्थापनको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सबै सरोकारवालासँग सहकार्य गरी आवश्यक बजेट व्यवस्थापन गर्दै विद्यालयका मागहरू क्रमशः पूरा गर्दै जाने बताउनुभयो।
कार्यक्रमका क्रममा विद्यालयका विद्यार्थीहरूले मार्चपास,सांस्कृतिक प्रस्तुति तथा खेलकुद प्रदर्शन मार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। खेलकुदतर्फ विजेता तथा उपविजेता विद्यार्थीहरूलाई खादा, माला, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित आय–व्यय अनुमान समेत सार्वजनिक गरिएको थियो।
शैक्षिक उपलब्धिको दृष्टिले विद्यालयले उल्लेखनीय प्रगति हासिल गरेको छ। कक्षा १२ को सामाजिक विषयमा शतप्रतिशत नतिजा हासिल गर्दै ४.० जिपिए प्राप्त गराउन सफल शिक्षक रमेश प्रसाद पाठक ज्यूलाई विशेष सम्मान गरिएको थियो।
यस वर्ष कक्षा १२ मा २३ जनामध्ये २३ जना विद्यार्थी ग्रेडेड भएका छन् भने १४ जना विद्यार्थीले ४.० जिपिए हासिल गरेका छन्।
त्यसैगरी कक्षा ५, ८, १० र १२ का बाह्य परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउने शिक्षकहरू, के.वि. (कक्षा वृद्धि) पर्व बचाउने शिक्षकहरूलाई नगदसहित सम्मान, वर्ष २०८१ का उत्कृष्ट शिक्षक शान्ता रिमाललाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
अन्तर सदन शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा पहेंलो सदन प्रथम हुन सफल भई सम्मानित भएको थियो।भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित भए पनि अभिभावक,शिक्षक तथा विद्यार्थीहरूको अनुशासन, मेहनत र परिश्रमका कारण विद्यालय शैक्षिक, सांस्कृतिक तथा खेलकुद क्षेत्रमा निरन्तर प्रगतिको दिशामा अघि बढिरहेको सहभागीहरूले बताएका छन्।कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक राम किशोर चौधरीले गर्नुभएको थियो।



















उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

