ट्यांकसहित रुसी भूभाग कब्जा गर्दै अघि बढ्यो युक्रेनी सेना


ट्यांकसहित रुसी भूभाग कब्जा गर्दै अघि बढ्यो युक्रेनी सेना

|Ukrainian service members take part in tactical drills at a training ground in an unknown location in Ukraine, in this handout picture released February 22, 2022. Press service of the Ukrainian Armed Forces General Staff/Handout via REUTERS ATTENTION EDITORS - THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’

रुस र युक्रेनबीचको साढे २ वर्ष लामो युद्धबीच युक्रेनले रुसी सीमाभित्र घुसेर आक्रमण तीव्र पारेको छ । युक्रेनी सेना रुसको सीमाभन्दा १० किलोमिटरभित्र पुगेको छ । साढे २ वर्ष लामो युक्रेनी भूमिको युद्धपछि पहिलोपटक रुसी सीमाभित्र युक्रेनी सेना घुसेपछि रुसको कुर्स्क प्रान्तबाट झण्डै ७६ हजार मानिस घर छाडेर भागेका छन् ।

युक्रेनका १ हजारभन्दा बढी सैनिक २० वटा बख्तरबन्द गाडी, ११ वटा ट्यांकसहित रुसी सीमाभित्र घुसेका हुन् । यो फौजले रुसका केही गाउँमा कब्जा जमाएको छ । कुर्स्कपछि यो समूह सुद्जा शहरतर्फ अघि बढ्न सक्ने जनाइएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनले गरेको यो सबैभन्दा ठूलो प्रत्याक्रमण हो ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओक्टाब्रास्को शहरमा १५ सैन्य वाहन क्षतिग्रस्त भएको देखिन्छ । यो शहर रुसी सीमाबाट करिब ३८ किलोमिटर टाढा पर्छ । युक्रेनी पक्षबाट हमला सुरु भएपछि रुसले कुर्स्क शहरतर्फ ट्यांक र रकेट लञ्चर पठाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पहिलोपटक रुसी भूमिमा हमला गरेको स्वीकार गरेका छन् । उनले युक्रेनी सेनाले युद्धलाई रुसी जमिनमा पुर्‍याएको बताएका छन् । युक्रेनी हमलाका कारण कुर्स्क प्रान्तमा रहेको परमाणु प्लान्टमा खतरा मडारिन थालेको छ ।

यो प्लान्ट सुद्जा शहरबाट ६० किलोमिटर टाढा छ । अन्तर्राष्ट्रिय एटोमिक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रसीले चेतावनी जारी गर्दै दुवै देशलाई सावधानी अपनाउन र परमाणु दुर्घटना रोक्न अपिल गरेको छ ।

यसअघि ८ अगस्टमा युक्रेनी सैनिक घुसेपछि कुर्स्क–ओब्लास्त प्रान्तमा संकटकाल लगाइएको थियो । युक्रेनले रुसको लिपेत्स्क प्रान्तमा सीमादेखि ३ सय किलोमिटर टाढा एयरफिल्डलाई पनि ड्रोनले निसाना बनाएको छ ।

यो मिलिट्री एयरफिल्ड रुसका फाइटर जेट, हेलिकोप्टर र ७ सयभन्दा बढी शक्तिशाली ग्लाइडर बमको बेस थियो । रुसले यो एयरफिल्डको प्रयोग सुखोई र मिगजस्ता फाइटर एयरक्राफ्टलाई अपरेट गर्न गर्दथ्यो ।

हमलापछि रुसका तर्फबाट जारी गरिएको बयानमा युक्रेनका ७५ भन्दा बढी ड्रोन खसालेको उल्लेख छ । जसमध्ये १९ वटा लिपेत्स्क प्रान्तमा थिए । युक्रेनी सैनिकले घुसपैठ गरेको इलाकामा महत्त्वपूर्ण ग्यास पाइपलाइन छ । रुसले यही पाइपलाइनबाट प्राकृतिक ग्यास निर्यात गर्छ ।रासस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस