अब उखु र दूध किसानको पनि दशैँ आउँछ, म खुसी छु:कृषि मन्त्री अधिकारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (१ हप्ता अघि)
  • ८० पटक पढिएको

अब उखु र दूध किसानको पनि दशैँ आउँछ, म खुसी छु:कृषि मन्त्री अधिकारी

सरकारले दूग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरू गरेको छ।

दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको सचिवालयको भनाइ छ।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक र भुक्तानीका लागि अनुमति दिएको हो।

आठ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयकाे अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँड गरी शुक्रबार नै  सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएकाे मन्त्री अधिकारीको सचिवालयको भनाइ छ।

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरीका उखु किसानले पाउनु पर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको हो।

उखु किसानले अनुदान बापत पाउनु पर्ने रकम दसैँ अघि नै पाउने भएका छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसैंअघि नै भुक्तानी गर्ने प्रतिबद्धता बताएका छन्।

दूध र उखु किसानले पाउनु पर्ने बक्यौता रकम दसैँअघि नै पाउने व्यवस्था सरकारले मिलाएको जनाउँदै मन्त्री अधिकारीले भने, ‘दूध र उखु किसानको दसैँ घर घरमा आउने छ। यसको चाँजो मिलाउने सबैलाई धन्यवाद छ, म अत्यन्त खुसी छु।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गत भदौ २६ गतेको निर्णयलाई महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले स्वीकृत गरेको हो। उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस