गजुरी (धादिङ), जेठ २९ बुधबार । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित श्री जीवनज्योति बालविकास केन्द्रमा आज एक विशेष कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्रालयबाट खटिएको ब्युटिसियन टिमले ४८ जना बालबालिकालाई हेयर कटिङ सेवा र सरसफाई सामग्री वितरण गरेको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयबाट आगन्तुक प्रशिक्षक टिमको नेतृत्व ब्युटिसियन ट्रेनर विष्णुमाया श्रेष्ठले गर्नुभएको थियो। उहाँसँगै आएका अन्य प्रशिक्षक म्यामहरू र ब्युटिसियन टिमले बालबालिकाको व्यक्तिगत सरसफाई र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराएका थिए।
कार्यक्रमका दौरान बालबालिकाहरूलाई टावल, साबुन, कंघी, हेयर कटिङ किट जस्ता सामग्री हस्तान्तरण गरिएको थियो। साथै, केन्द्रको सरसफाई अवस्थाको अनुगमन गरी सुधारका लागि सुझावहरू पनि दिइएको थियो।
जीवनज्योति बालविकास केन्द्रका प्रतिनिधिहरूले सामाजिक विकास मन्त्रालय, शिक्षा शाखा, गजुरी गाउँपालिका वडा कार्यालय तथा उपस्थित सम्पूर्ण प्रशिक्षक टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोग निरन्तर हुने आशा व्यक्त गरे।
बाल विकास केन्द्रको तर्फबाट र व्यक्तिगत रूपमा पनि टिमप्रति मुरीमुरी धन्यवाद व्यक्त गरिएको छ।