गजुरी, धादिङ – वर्षायामको सुरुवातसँगै वर्षाका कारण सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न तथा समयमै प्रभावकारी तयारी गर्न गजुरी गाउँपालिकाको आयोजनामा एक महत्वपूर्ण समन्वयात्मक बैठक सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठले गर्नुभयो।गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका आठै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
बैठकमा ईलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय,भैरव गण गजुरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा धादिङ, नेपाल रेडक्रस गजुरी उपशाखा, सशस्त्र प्रहरी बेस आदमघाट, आदर्श बहुमुखी क्याम्पस, युरेस लगायत निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा पहिरो, बाढी, सडक अवरोध, संरचना जोखिम, उद्धार व्यवस्था, राहत सामग्री, आपतकालीन सम्पर्क, र जोखिम न्यूनीकरण सम्बन्धी समन्वयात्मक योजना प्रस्तुत गरियो। सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने र स्थानीय तहबाट आवश्यक स्रोत साधन जुटाउने विषयमा गहन छलफल भएको थियो।
गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठले स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्थाहरूबीच सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, “विपद् रोकथाम भन्दा पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था आउन नदिन हामी सबै एक भएर काम गर्नुपर्छ,” भन्ने धारणा राख्नुभयो।
बैठकबाट पालिकास्तरीय विपद् व्यवस्थापन समिति सक्रिय बनाउन, उच्च जोखिम क्षेत्रहरूको पहिचान गरी सचेतना कार्यक्रम सञ्चालन गर्न तथा आपतकालीन उद्दार टोलिहरू गठन गर्नेसहितका निर्णयहरू पनि गरिएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |