|{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
गजुरी, धादिङ – २०८२ साउन १।गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको परिचयपत्र नवीकरण प्रक्रिया साउन १ गते बिहिवार देखि सुरु भएको छ।
गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै भाद्र मसान्तसम्म नवीकरण सक्नुपर्ने बताएको हो।गाउँपालिकाको सूचनाअनुसार, सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ अनुसार सबै लाभग्राहीहरूले आ-आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई नवीकरण गर्नु पर्नेछ।
नवीकरणका लागि अनिवार्य कागजातहरूमा राष्ट्रिय परिचयपत्र नम्बर वा आवेदन नम्बर, नागरिकता प्रमाणपत्र, हालसालै खिचिएको फोटो, तीन पुस्ते विवरणसहितको पुरानो परिचयपत्र लगायत अन्य आवश्यक प्रमाणपत्रहरू समावेश छन्। ९० वर्षमाथिका, अशक्त, अपांग, बालबालिका, विधवा तथा सम्बन्धविच्छेद गरेका लाभग्राहीहरूका लागि छुट्टाछुट्टै अतिरिक्त कागजातहरू अनिवार्य गरिएको छ।
यस वर्षदेखि बायोमेट्रिक मेसिनद्वारा नवीकरण प्रक्रिया लागू गरिने भएकोले लाभग्राही स्वयम् उपस्थित हुन अनिवार्य गराइएको हो। तथापि, बालबालिका, अति अशक्त तथा ९० वर्ष माथिका लाभग्राहीहरूका हकमा अभिभावक वा स्याहार गर्ने व्यक्तिको उपस्थितिले पनि प्रक्रिया पूरा गर्न सकिनेछ।
गाउँपालिकाले वडा कार्यालयहरूलाई सूचना टाँस गर्न र सूचना तथा प्रविधि शाखालाई वेबसाइटमा अपलोड गर्न निर्देशनसमेत दिएको छ।
गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतले हस्ताक्षरित सूचनामा भनिएको छ, “नवीकरण नगरेमा आगामी वर्षको सामाजिक सुरक्षा भत्ता रोकिन सक्ने भएकाले तोकिएको समयमै सम्पर्क गर्नु हुन अनुरोध छ।”
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |