
धादिङ – बडादशैंको अवसरमा गजुरी गाउँपालिकाले असोज ११, १२ र १३ गते सञ्चालन गरेको निःशुल्क बस सेवा सफलतापूर्वक सम्पन्न भएको छ। उपत्यकामा विभिन्न पेशा तथा शिक्षा हासिल गर्दै बसिरहेका गजुरीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई गाउँ फर्काउने उद्देश्यले सञ्चालन गरिएको यस सेवाबाट ४२९ जना यात्रु सुरक्षित रूपमा गजुरी फर्किएका छन्।
जनसेवामा प्रतिबद्ध गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको पहल तथा नेतृत्वमा सञ्चालन भएको यो सेवा स्थानीयका लागि सहज र राहतपूर्ण बनेको स्थानीयवासीले बताएका छन्। सेवालाई सफल बनाउन अहोरात्र खटिएका गजुरी–१ का वडाध्यक्ष तारानाथ भण्डारी, अध्यक्ष ज्यूका स्वकीय सचिव सुमन लो.तामाङ,समाजसेवी सुमन लामा, दिवाकर श्रेष्ठ, गणेश पाण्डे तथा गजुरी गाउँपालिका प्रहरी टोलीको सक्रियताप्रति आभार प्रकट गरिएको छ।
यसैगरी, सेवाको क्रममा केदारेश्वर आयल डिस्ट्रीब्युटर्स प्रा.लि. बन्छेटार परिवारले उपलब्ध गराएको पानी सहयोगलाई उल्लेखनीय मान्दै धन्यवाद दिइएको छ। स्थानीयवासीले यस्ता सामूहिक प्रयासले पानी अभावजस्ता समस्यामा ठूलो राहत पुगेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
यस प्रकारको निःशुल्क बस सेवाले दशैंको समयमा गाउँ फर्किन चाहने गजुरीबासीलाई ठूलो सहजता र राहत प्रदान गरेको छ।






















उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

