गजुरी गाउँपालिकाबाट उच्च सतर्कता अपनाउन आग्रह


गजुरी गाउँपालिकाबाट उच्च सतर्कता अपनाउन आग्रह

धादिङ, कात्तिक १३ – हाल बंगालको खाडीमा विकसित `मोन्थाका’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि गजुरी गाउँपालिकाले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म विशेषगरी कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेकाले सतर्क रहन सबैलाई अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, “भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, चट्याङ, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिम बढ्ने भएकाले सबै आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूले सतर्कता अपनाउन आवश्यक छ।”

गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जारी गर्नुभएको सूचनामा स्थानीय बासिन्दालाई अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान, खोलानाला पार गर्दा विशेष सावधानी अपनाउन, र कुनै घटना घटेमा तत्काल सम्बन्धित वडा अध्यक्षसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

गाउँपालिकाले सबै वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन र आपतकालीन सहयोगका लागि आवश्यक समन्वय गर्न निर्देशन समेत दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु