बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,गजुरी गाउँपालिका वडा नं. २ मलेखु, धादिङको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन पानसमा बत्ती बालेर भव्य रूपमा उद्घाटन गरिएको छ।
नवौँ अधिवेशनबाट एकराज पाण्डे ज्यूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपकान्त थपलिया,सचिवमा रेष्टन कडेल र कोषाध्यक्षमा भूमि प्रसाद कडेल चयन हुनुभएको छ।
यसैगरी, सदस्यहरूमा शुक्रकुमार श्रेष्ठ र हरिशरण सिल्वाल चयन भएका छन् भने महिला सदस्यहरूमा राधिका सुयल र सरस्वती बराकोटी चयन हुनुभएको छ।
त्यस्तै, लेखा समितिको संयोजकमा राजु सिल्वाल चयन हुनु भएको छ। लेखा समितिका सदस्यहरूमा रामहरि थापा र रिता थापा चयन भएका छन्। महिला उप–समितिको संयोजकमा पार्वती मगर ज्यू चयन हुनुभएको छ।
कार्यक्रममा वक्ताहरूले सहकारीको इमान्दारिता, पारदर्शिता र दिगो विकासलाई प्राथमिकतामा राख्दै सदस्य–केन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय तथा नाफा–नोक्सान विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुत विवरणअनुसार सहकारीको मुख्य आम्दानी स्रोत बचत तथा ऋण कारोबार रहेको छ। ब्याज आम्दानी, सेवा शुल्क तथा अन्य शीर्षकबाट संकलित आम्दानीका आधारमा खर्च व्यवस्थापन सन्तुलित रूपमा गरिएको र सहकारीले नाफा आर्जन गर्न सफल भएको जानकारी यसै संस्थाका कोषाध्यक्ष भुमी प्रसाद कडेलले बताए।
प्रतिवेदनमा प्रशासनिक, कर्मचारी तथा सञ्चालन खर्चहरू नियन्त्रित ढङ्गले व्यवस्थापन गरिएको उल्लेख गरिएको छ। साथै, सहकारीले डिजिटल प्रणालीमार्फत दैनिक आर्थिक कारोबार व्यवस्थापन गर्दै पारदर्शिता र सुशासनलाई प्राथमिकता दिएको बताइएको छ।
राज्यका नीति, सहकारी ऐन तथा नियमावलीअनुसार संस्था सञ्चालन भइरहेको उल्लेख गर्दै आगामी दिनमा उत्पादनशील क्षेत्रमा लगानी विस्तार, जोखिम व्यवस्थापन तथा सदस्यहरूको आयआर्जन वृद्धिमा केन्द्रित कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष एकराज पाण्डे ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, गाउँपालिका अध्यक्ष ज्यूका जीवनसंगिनी सङ्गिता श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी, वडा नं. २ का वडा अध्यक्ष द्रोण कडेल, धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रङ्ग थपलिया, कमलराज कडेल,सानाकिसान सहकारी संस्थाका अध्यक्ष पहलमान श्रेष्ठ तथा बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जीवन कुमार तामाङ्को आतिथ्यता रहेको थियो।
साधारणसभाले प्रस्तुत आय–व्यय तथा नाफा–नोक्सान विवरण सर्वसम्मत रूपमा पारित गर्दै सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

