काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्।आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायल बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी व्यक्त गरिन्। त्यसैगरी दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गरिन्।
राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराएका हुन्।









