दूध संकलन २०० लिटर नाघ्यो, परवाङ सहकारीको साधारण सभा सम्पन्न


दूध संकलन २०० लिटर नाघ्यो, परवाङ सहकारीको साधारण सभा सम्पन्न

धादिङ । गजुरी गाउँपालिका वडा नं.८ मा रहेको परवाङ कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजुरी गाउँपालिका सरकारका प्रवक्ता तथा गजुरी–७ का वडा अध्यक्ष बद्रीप्रसाद जम्कटेल प्रमुख अतिथि रहनुभएको थियो भने गजुरी–८ का वडा अध्यक्ष देवराज ओझा विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्षका स्वकीय सचिव सुमन लो तामाङ,पूर्व पञ्चायतका प्रमुख रामप्रसाद अधिकारी,किराञ्चोक माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल विद्यालय व्यवस्थापन समितिका सदस्य शकुन्तला वराल लगायत समाजसेवी, बुद्धिजीवी तथा सहकारीका साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक आर्थिक विवरण प्रस्तुत गरिएको थियो। विवरणअनुसार संस्थाको कुल कोष रु.८,६८,००० रहेको छ भने कुल बचत रु. ३,३५,६०५ पुगेको छ।

संस्थाले हाल दूध संकलन केन्द्र सञ्चालन गर्दै आएको छ। करिब ४० जना किसानहरू सहकारीमार्फत दूध संकलन गरिरहेका छन् र दैनिक करिब २०० लिटर दूध संकलन भइरहेको जानकारी अध्यक्ष ओझाले दिनुभयो।

दूध उत्पादन तथा संकलन बढ्दै गएकोले गजुरी क्षेत्रमा दूध चिस्यान केन्द्र आवश्यक रहेको बताउँदै प्रमुख अतिथि जम्कटेलले आगामी आर्थिक वर्षमै त्यसको निर्माणका लागि गाउँपालिकाबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

दूध संकलनबाट मासिक करिब रु. ३,५०,००० गाउँमा भित्रिरहेको जानकारी विशेष अतिथि देवराज ओझाले दिनुभयो। साथै कृषि विकास बैंक गजुरी शाखाले ‘VITA (भिटा)’कार्यक्रम मार्फत किसानहरूलाई ऋण सहजीकरण गर्न लागेको कुरा पनि संस्थाका अध्यक्ष नवराज ओझाले जानकारी गराउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु