
धादिङ — गजुरी गाउँपालिकामा कृषि शाखाको आयोजनामा चैत्र १ गते देखि ३ गतेसम्म सञ्चालन भएको व्यावसायिक मौरीपालन तालिम सफलता पूर्वक सम्पन्न भएको छ। कृषकहरूलाई आधुनिक सीप,प्रविधि तथा ज्ञान प्रदान गरी मौरीपालनलाई लाभदायक र दिगो व्यवसायका रूपमा विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी,गजुरी गाउँपालिका कृषि शाखा अधिकृत शर्मिला सुबेदी र प्राविधिक अशोक श्रेष्ठ,गोदावरी मौरी विकास केन्द्र ललितपुरका प्रशिक्षक दिपेन्द्र मल्ल,लगायतको उपस्थिति रहेको थियो।उहाँहरूले कृषकहरूको आयआर्जन वृद्धि तथा आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
तालिमका क्रममा सहभागी कृषकहरूले मौरी पालन गर्ने तरिका, घार व्यवस्थापन,रोग तथा कीरा नियन्त्रण,मह उत्पादन तथा बजारीकरण सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका छन्।तालिम समापनका अवसरमा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले कृषकहरूको आय आर्जन वृद्धि र आत्मनिर्भरता अभिवृद्धिका लागि व्यावसायिक तथा सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले मौरीपालन जस्तो व्यवसायले कम लगानीमा राम्रो आम्दानी दिन सक्ने भएकाले यसलाई व्यावसायिक रूपमा विस्तार गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारीले कृषकहरूलाई परम्परागत खेती प्रणालीसँगै आधुनिक र व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख हुन आग्रह गर्नुभयो। उहाँले मौरीपालन तालिमले कृषकहरूको ज्ञान र सीप वृद्धि गरी आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी कृषकहरू र प्रशिक्षकलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता तालिमहरू सञ्चालन गरिने जनाएको छ।






































उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

