
धादिङको गजुरी गाउँपालिकाले वन डढेलो नियन्त्रण सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चैत महिनादेखि सुरु भएको सुख्खा मौसमसँगै देशका विभिन्न स्थानमा वनमा आगलागीका घटना बढ्दै गएका छन्। सानो लापरबाहीका कारण फैलिएको आगो डढेलोको रूपमा विस्तार भई वन जंगल, वन्यजन्तु,चराचुरुङ्गी तथा तिनका बासस्थानमा गम्भीर असर पुगेको गाउँपालिकाले जनाएको छ।
सूचनामा वन क्षेत्रमा रहेका खानेपानी पाइपलाइनमा क्षति पुगेको,साथै नजिकका बस्तीमा जनधनको जोखिम बढेको उल्लेख गरिएको छ। डढेलोबाट निस्कने धुवाँले मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले यसप्रति सबैले सजग हुनुपर्ने बताइएको छ।
गाउँपालिकाले वन क्षेत्रमा आगो नलगाउन तथा डढेलो नियन्त्रणमा सहयोग गर्न सम्पूर्ण स्थानीय समुदाय,आमा समूह,युवा क्लब लगायत सबैलाई अपिल गरेको छ। साथै,डढेलो लागेको जानकारी पाएमा तुरुन्त गाउँपालिकाको सूचना शाखा वा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरिएको छ।
वनमा आगो लगाउने कार्य वन ऐन,२०७६ अनुसार दण्डनीय हुने उल्लेख गर्दै दोषीलाई तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले सबै नागरिकलाई जिम्मेवार बन्न र समयमै सतर्कता अपनाई डढेलो नियन्त्रणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ।












उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

