धादिङ । नेत्रावती डबजोङ गाउँपालिकामा वडा नम्बर ३ स्थित सेमजोङमा प्रहरी चौकी नयाँ भवन उद्घाटन भएको छ। प्रहरी चौकीको स्थापनाले स्थानीय क्षेत्रका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने मात्र होइन, गाउँपालिका स्तरमा अपराध नियन्त्रण, आपतकालीन सेवा, महिला तथा बालबालिका सुरक्षा, र सामुदायिक प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउनेछ।
११ वर्षअघि स्थापित प्रहरी चौकीले अहिलेसम्म अस्थायी रूपमा सेवा दिइरहेकामा अब स्थायी संरचनाबाट सेवा सञ्चालन हुनाले प्रहरीको कार्यसम्पादनमा थप सहजता आउनेछ। कार्यालय प्रमुख कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, ब्यारेक, शौचालय, गार्ड रुम, तथा मनोरञ्जन कक्ष जस्ता सुविधा सम्पन्न भवनले सुरक्षाकर्मीहरूलाई राम्रो वातावरण उपलब्ध गराउनेछ।
भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरेशचन्द्र लामिछाने, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण हरि शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र शाही, गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, वडा अध्यक्ष सुरेश वाईवा तामाङ लगायतका विशिष्ट व्यक्तिहरू उपस्थितमा सप्पन्न भएको हो।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी ईकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधीन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामिछानेले बताए।
उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरीलाई आग्रह गर्दै गाउँपालिकाको न्यानो आतिथ्यता र मायाको लागि नेत्रावती डबजोङ गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
नवनिर्मित भवनको भुई तल्लामा कार्यालय प्रमूख कक्ष, छुट्टाछुट्टै शौचलय सुविधा सहितको छुट्टाछुट्टै महिला÷पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू सहित बनेको भवन १ सय १५ बर्गमिटरमा ब्यवस्थापन गरीएको छ, भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्षा समेत रहेको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुई चरणमा बजेट विनियोजन गरि १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताउनुभयो।