काठमाडौं, २१ असार।कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण गरिएको छ ।साहित्यिक पत्रकार संघ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा एक विशष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल र आमन्त्रित व्यक्तित्वहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष अध्यक्ष राधेश्याम लेकाली, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, प्रा.विष्णु केसी, कलानिधि दाहाल, खेमनाथ दाहाल, कृष्णप्रसाद भट्टराई, गणेशराज पोखरेल, शान्ता दाहाल स्रष्ठा पुरुषोत्तम दाहाल र साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला लगायत मञ्चासिन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो ।
पिता तथा पुत्रको यो संयुक्त कवितासंग्रह हो । ११५ पृष्ठ रहेको पुस्तकमा ३० थान थान कविताले ९१ पृष्ठ ओगटेको छ । ‘क’खण्डमा पिता पुरुषोत्तम दाहालका १७ थान कविता छन् भने खण्ड’ख’मा पुत्र अनिमेष दाहालको १३ थान रहेका छन् ।
अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहनुभयो भने प्रा.पुरुषोत्तम दाहालले आफ्नो कृति रचना बारे प्रकाश पार्नुभएको थियो ।
मन्तव्यका क्रममा उहाँले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताउनुभयो । कवि दाहालको एक दर्जन जति कृति प्रकाशित छन् । यसअघि उहाँका उपन्यास ‘शान्ता’, ‘कालपात्र’, कवितासंग्रह ‘कालो बादलमा उज्याला पाइला’ जस्ता कृति पाठकमाझ आएका छन् । सो अवसरमा उहाँका यि कृतिको समेत चर्चा भएको थियोे । कवि पुरुषोत्तम दाहालले लोकार्पित कृतिबाट ‘नलीहाड धुन’ भन्ने कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.विष्णु केसीले खण्ड ‘क’को प्रा.पुरुषोत्तम दाहालका १७ थान कविताको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू मुखरित भएको उहाँले बताउनुभयो । साथै, उहाँले संग्रहबाट एउटा कविता पनि वाचन गर्नुभएको थियो ।
त्यसैगरी, अर्का समीक्षक महाकाव्यकार खेमनाथ दाहालले खण्ड ‘ख’को कवि अनिमेष दाहालका १३ थान कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताउनुभयो ।
कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट कृष्णप्रसाद भट्टराई र नन्दकृष्ण जोशीले एक–एक वटा कविता वाचन गर्नुभएको थियो भने कलानिधि दाहाल, अश्विनी कोइराला, मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले संघको गतिविधिमाथि प्रकाश पार्दै कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे आफ्नो धारणा राख्नुभएको थियो । साथै, उहाँले शुभकामना मन्तव्यसहित धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले पुस्तकको न्वारान आफूले गरिदिन पाएको र कवि दाहालद्वयले मन पराइदिनु भएकोमा आभार प्रकट गर्दै प्रकाशनको जिम्मेवारी लिन पाएकोमा धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा स्रष्टा कवि दाहाललाई ‘स्रष्टा सम्मान’ले विभूषित गरिएको थियो भने गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान प्रकट गरिएको थियोे ।
कवि विनोद दाहाल ‘वत्स’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको समुद्घाटन शान्ता फाउण्डेशनकी अध्यक्ष शान्ता दाहालले गर्नुभएको थियो भने सहजीकरण गीतकार निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा साहित्य तथा विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।