मनहरी–मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी हुनेछ ।
नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको जनाइएको छ ।
शुक्रबार पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यक्रम सञ्चालन बारेको जानकारी पत्र हस्तान्तरण गरेका छन् ।साथै कार्यक्रम सञ्चालनको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न पनि लामिछानेले गाउँपालिकालाई अनुरोध गरे ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ ।मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो कार्यक्रम लागु हुनेछ भने बागमती प्रदेशमा ८ वटा स्थानीय तह समेटिएका छन् ।
यो कार्यक्रम पालिकामा कार्यक्रम कार्यान्वयनको लागि प्रत्यक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने कायक्रम कार्यान्वयन गराउने संस्था पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत लामिछानेले बताए ।
महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइनेछ।















