धादिङ क्षेत्र नम्बर–२ मा नेकपा एमालेको उम्मेदवार चयन प्रक्रिया लाई लिएर पछिल्ला दुई दिनदेखि अन्योल र बहस चुलिएको छ। पार्टी कार्यकर्तामाझ सुरुमा धनबहादुर घलेले टिकट पाइसकेको भन्दै बधाई तथा शुभकामना आदान–प्रदान भइरहेको थियो। क्षेत्रका विभिन्न स्थानमा घलेको नामलाई उम्मेदवारका रूपमा लगभग निश्चित जस्तै गरी चर्चा गरिएको देखिन्थ्यो।
धनबहादुर घले २०७० सालको संविधानसभा निर्वाचनमा धादिङबाट निर्वाचित भइसकेका नेता भएकाले पनि टिकट पाइसकेको भन्ने बुझाइ थप बलियो बनेको थियो। तर आज आएर सोही टिकट एमाले धादिङका नेता टानका पुर्व अध्यक्ष एवम् पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले लिएर आएको भन्ने चर्चा सार्वजनिक रूपमा फैलिएको छ।
टिकटको विषयलाई लिएर असन्तोष बढिरहेका बेला धनबहादुर घलेले केही समयअघि सामाजिक सञ्जालमार्फत पार्टीले उचित निर्णय नगरे आफू पार्टी छोड्नेसम्मको चेतावनी दिएको विषय पनि पुनः चर्चामा आएको छ। उक्त अभिव्यक्तिले अहिलेको परिस्थितिलाई थप संवेदनशील बनाएको विश्लेषण स्थानीय राजनीतिक वृत्तमा हुन थालेको छ।
यस घटनापछि एमाले धादिङका केही कार्यकर्ताहरूले उम्मेदवार चयन प्रक्रिया अस्पष्ट भएको भन्दै असन्तोष व्यक्त गरेका छन्। दुई दिनअघि लगभग निश्चित मानिएको टिकट आज अर्कै नेताको नामसँग जोडिनुले पार्टीभित्र भ्रम र असहजता सिर्जना भएको उनीहरूको भनाइ छ।
धादिङ–२ मा एमालेको टिकट कसरी र कुन प्रक्रियाबाट कसको पक्षमा टुंगो लाग्यो भन्ने विषयमा पार्टीको औपचारिक धारणा हालसम्म सार्वजनिक भइसकेको छैन। यद्यपि यो घटनाक्रमले स्थानीय राजनीति तथा एमालेको आन्तरिक अवस्थाबारे गम्भीर प्रश्नहरू उठाएको छ

