बागमती प्रदेश सरकारबाट विनियोजित बजेट अन्तर्गत, उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसी, धादिङको आयोजनामा र गजुरी गाउँपालिकाको समन्वयमा गजुरी गाउँपालिका–६ मा सञ्चालित १ महिने (बढाएर ३७ दिन बनाइएको) महिला उद्यमशीलता एडभान्स सिलाइ तालिमको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
समापन कार्यक्रमको अध्यक्षता उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख श्री चुडामणि पुरीले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका सरकार प्रमुख अध्यक्ष गणेशलाल श्रेष्ठ रहनुभएको थियो।विशेष अतिथिका रूपमा गजुरी गाउँपालिका–६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ (कर्ण)को गरिमामय उपस्थिति रहेको थियो।
तालिममा सहभागी गृहिणी महिलाहरूले सिलाइ-कटाइको व्यावसायिक दक्षता प्राप्त गरी उद्यमशीलताको बाटोमा अग्रसर हुने अपेक्षा गरिएको छ।यस तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार तथा लघु उद्यममा प्रेरित गर्दै आर्थिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा प्रशिक्षक, सहभागी महिला, स्थानीय अगुवा, पत्रकार तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |