धादिङ-गजुरी गाउँपालिका वडा नं.१ स्थित मुहान टोलमा २८ जना महिलाहरूका लागि प्रदान गरिएको ३९० घण्टे विल्डिङ इलेक्ट्रिसियन र प्लम्बिङ तालिमको समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ।
गजुरी गाउँपालिकाको आयोजनामा सम्पन्न सो कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, र वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारीले २८ जना प्रशिक्षार्थी महिलाहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरे।
उक्त तालिम नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखा, सडक विभाग तथा The World Bank को सहयोगमा सञ्चालन गरिएको हो। तालिमको प्राविधिक पक्षमा आर.आई.एम.सी ट्रेस नेपाल जे.भी.ले सहयोग पुर्याएको तालिमका आउनु भएका परिक्षक पुर्ण प्रसाद जोशिले बताए।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले महिलाहरूलाई प्रविधिक सीप गरेर स्वरोजगारमा लाग्न सक्ने वातावरण निर्माण गर्न यो तालिम महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।साथसाथै गजुरी गाउँपालिकाले आगामी दिनहरूमा पनि सीपमूलक तालिमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
सीपमूलक तालिमबाट महिलाहरूमा आत्मविश्वास र आत्मनिर्भरता बढेको सहभागीहरूको अनुभव छ। तालिममा सहभागी एक प्रशिक्षार्थीले भनिन्, “यस तालिमले हामीलाई जीवन परिवर्तन गर्ने बाटो देखाएको छ। अब हामी पनि पुरुष सरह प्राविधिक काम गर्न सक्षम भएका छौँ।”
समापन कार्यक्रममा तालिम प्रशिक्षकहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू, सहभागी महिलाहरू र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |