धादिङ,२०८२ असार १५ आइतबार ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ गजुरी गाउँपालिकाको कृषि शाखाद्वारा आयोजित २२ औं राष्ट्रिय धान दिवस गजुरी गाउँपालिका वडा नं. ६ स्थित ठुली फाँटमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ थिए भने विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिशुराल रहनुभएको थियो।
अध्यक्ष श्रेष्ठले कृषि उत्पादनमा आत्मनिर्भर बन्न स्थानीय तहबाट निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै, परम्परागत कृषिप्रतिको सम्मान र वैज्ञानिक पद्धतिको प्रयोगको आवश्यकता औँल्याउनुभयो।
उपाध्यक्ष बिशुरालले कृषिमा महिला सहभागिता, सहकारीको सशक्त भूमिका र स्थानीय स्रोतको सदुपयोगले मात्र दीगो कृषि सम्भव हुने बताउँदै सबैलाई सहकार्यमा अघि बढ्न आह्वान गर्नुभयो।
गजुरी–६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङले यसअघि गजुरीका विभिन्न वडाहरूमा धान दिवस मनाइएको स्मरण गर्दै, यसपटक आफ्नो वडामा आयोजना गरिने सुझाव र पहलबाट कार्यक्रम सफल रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।
कार्यक्रममा गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी,गजुरी-५ का वडा अध्यक्ष गोबिन्द्र लामिछाने, धादिङ बहुप्राविधिक शिक्षालयका कार्यालय प्रमुख रबिराज भण्डारी, गाउँपालिकाका कृषि शाखा प्रमुख शर्मिला सुवेदी, प्राविधिक अशोक श्रेष्ठ लगायत स्थानीय किसान, जनप्रतिनिधि, सरकारी कर्मचारी, महिला समूह, युवा तथा विभिन्न समुदायका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम रोपाइँ, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन प्रदर्शनीले थप आकर्षक बनेको थियो।
गजुरी गाउँपालिकाको कृषि शाखाले आगामी दिनहरूमा धान उत्पादन अभिवृद्धिका लागि बीउ सुधार, प्रविधि विस्तार, तालिम तथा सिँचाइ व्यवस्थापनमा प्राथमिकता दिइने जनाएको छ।
असार १५ गते मनाइने राष्ट्रिय धान दिवस नेपालभर कृषकहरूले खेतीपाती, माटो र श्रमको सम्मानस्वरूप पर्वका रूपमा मनाउने गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |