धादिङ — नीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालन भएका विभिन्न सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
समापन समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले गर्नुभयो भने प्रमुख अतिथि नगर प्रमुख भीम प्रसाद ढुंगाना रहनुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायत जनप्रतिनिधि, प्रशिक्षक, सामाजिक संस्थाका प्रतिनिधि तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले निम्न तालिमहरू पूरा गरेका थिए:
बारिस्ता तालिम — २० जना
कूक तालिम — १५ जना
हलुका सवारी चालक तालिम — २० जना
वेटर तालिम — २० जना
डकर्मी तालिम (प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत) — ४० जना
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढुंगानाले आत्मनिर्भर बन्न सिकेका सहभागीहरूलाई बधाई दिँदै, “प्राप्त सीपलाई रोजगारी र उद्यमशिलतामा रूपान्तरण गर्नुपर्छ,” भन्ने सन्देश दिनुभयो।
त्यस्तै, उपप्रमुख विश्वकर्माले भविष्यमा अझ व्यावसायिक र प्रभावकारी सीपमूलक तालिमहरू सञ्चालन गर्दै युवालाई स्वरोजगारको अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा प्रशिक्षकहरू, पालिकाका जनप्रतिनिधि तथा सहभागीहरू बीच संवाद, अनुभव आदान–प्रदान, र भावी योजनाबारे छलफल समेत गरिएको थियो।तस्बिर:रेडियो बिहानी।