गजुरी गाउँपालिका वडा नं. ३, ६ र ७ का गृहिणी महिलाहरूलाई लक्षित गरी सञ्चालित १६ दिने मौरीपालन तालिम सहित अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। तालिम पश्चात सहभागी कृषक महिलाहरूलाई रानी मौरीसहित ९० वटा मौरी घार वितरण गरिएको हो।
घार वितरण कार्यक्रम गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारी, वडा नं. ३ का अध्यक्ष ऋषिलाल श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष भक्तबहादुर (कर्ण) तामाङ र वडा नं. ७ का अध्यक्ष बद्रीप्रसाद जम्कटेलको विशेष उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिल्वालको विशेष समन्वय तथा सक्रिय भूमिका रहेको थियो। तालिम समापन कार्यक्रममा प्रशिक्षक नारायण घिमिरेले मौरीपालनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो।
शाखा प्रमुख सिल्वालले भनिन्, “रानी मौरीसहित ९० घार वितरण गरिएको हो। महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कार्यक्रम सम्पन्न गरिएको हो।”
उक्त कार्यक्रम बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, हेटौंडा मकवानपुरको आयोजनामा तथा गजुरी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रमको मुख्य उद्देश्य मौरीपालनको सीपमार्फत महिलाहरूलाई आर्थिक सशक्तिकरण र स्वरोजगारतर्फ उन्मुख गराउनु हो। गजुरी गाउँपालिकाले आगामी दिनमा पनि महिला सशक्तिकरण तथा व्यावसायिक कृषि विकासका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |