गजुरी, धादिङ –गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनको अवसरमा उपाध्यक्ष शर्मिला विशुरालले बजेट प्रस्तुत गर्दै बजेट स्थानीय आवश्यकता, समावेशिता र समृद्धिको मार्गचित्रअनुसार विनियोजन गरिएको जानकारी दिइन्।
उहाँले प्रस्तुत गर्नुभएको बजेटमध्ये
👉 ४३ करोड ३३ लाख ४२ हजार रुपैयाँ (६४.५ प्रतिशत) चालु खर्चतर्फ,
👉 र २३ करोड ८९ लाख ५० हजार रुपैयाँ (३५.५ प्रतिशत) पुँजीगत खर्चतर्फ छुट्याइएको छ।
सभाको अवसरमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष विकासको प्राथमिकता कृषि प्रणालीको आधुनिकीकरण, सीपमूलक तालिमको विस्तार, तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा केन्द्रित हुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “गाउँपालिकाको समृद्धिका लागि स्रोतको अधिकतम उपयोग गरिनेछ, पारदर्शिता कायम राखी योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ।”
अध्यक्ष श्रेष्ठले पूर्वाधार विकास, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा सुदृढीकरण, महिला सशक्तीकरण, तथा दिगो विकासका कार्यक्रमहरू पनि नीति तथा कार्यक्रमभित्र समेटिएको जानकारी दिनुभयो।
१६औँ गाउँसभामा वडाध्यक्षहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
सभाको उद्घाटन अध्यक्ष श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभएको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |