च्याट ग्रुपमा चिनियाँ राष्ट्रपतिको आलोचना गरेपछि ‘हराए’ अर्थशास्त्री

फोटो फाइलबाट।

च्याट ग्रुपमा चिनियाँ राष्ट्रपतिको आलोचना गरेपछि ‘हराए’ अर्थशास्त्री

राष्ट्रपति सी चिनफिङलाई च्याट-ग्रुपमा आलोचना गरेपछि चीनको सरकारी थिंक-ट्यांकका एक अर्थशास्त्री केही महिनादेखि हराएका छन्।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेसमा पछिल्लो एक दशक उपनिर्देशक रहेका ५५ वर्षीय झु हेङपेङले वि-च्याटको एउटा गोप्य समूहमा केही महिनाअघि चीनको अर्थतन्त्र र राष्ट्रपतिको कडा आलोचना गरेका थिए। सो थिंक-ट्यांकले स्टेट काउन्सिल (चीनको मन्त्रिपरिषद) अन्तर्गत रहेर काम गर्छ।

उनलाई अप्रिलमा एउटा वित्तीय विषयबारे लेख्ने मिडियाले आयोजना गरेको कार्यक्रमपछि सार्वजनिक रूपमा देखिएको छैन भन्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ। उनको ठेगानामा र चिनियाँ मन्त्रिपरिषदको सूचना शाखामा उनीबारे सोधखोज गर्दा उनी कहाँ छन् भन्ने नखुलेको जर्नलले जनाएको छ। द गार्डियनले पनि सो थिंक-ट्यांकले उनीबारे प्रश्नहरूको जबाफ नदिएको लेखेको छ।

उसै पनि नेतृत्वको आलोचना नरूचाइने कम्युनिस्ट चीनमा सीले सन् २०१३ मा शासन गर्न थालेपछि आलोचना निषेध गरिएको छ। उनी र उनको नीतिको आलोचना गर्नेलाई कारबाही गरेर पदबाट हटाउने मात्रै हैन देश निकाला र जेल नै सम्म पनि हाल्ने गरिन्छ।

पछिल्ला वर्ष चीनको अर्थतन्त्र शिथिल भएको परिप्रेक्ष्यमा सीले अर्थतन्त्र राम्ररी नचलाएको भनेर झुले च्याट-ग्रुपमा प्रतिक्रिया जनाएका थिए। उनले अप्रत्यक्ष रूपमा सीको मृत्युबारे पनि बोलेको भनेर एक स्रोतलाई उद्धृत गर्दै जर्नलले लेखेको छ।

अप्रिलमा सो मिडियाले आयोजना गरेको कार्यक्रमपछि उनले मे २५ मा सिन्घुआ युनिभर्सिटीको सेन्टर फर इण्डष्ट्रियल डेभेलपमेन्ट एण्ड इन्भाइरोमेन्ट गभर्नेन्सले आयोजना गरेको कार्यक्रममा बोल्ने तय थियो। सो सेन्टरको प्राज्ञिक समितिको उनी सदस्य पनि हुन्।

तर त्यो सेन्टरले सो कार्यक्रमबारे तयार पारेको प्रतिवेदनमा उनी वक्ता वा सहभागी भएकोबारे केही पनि नजनाएको र उनको ठाउँमा अर्का प्राज्ञले बोलेको जर्नलले औंल्याएको छ। उनको नाम उनले काम गर्ने सरकारी थिंक-ट्यांक र मेको कार्यक्रम आयोजना गर्ने सेन्टरको वेबसाइटबाट पनि हटाइएको छ।

चीनमा महत्वपूर्ण सरकारी ओहोदामा भएका अधिकारीलाई कम्युनिस्ट पार्टीले कारबाही गर्दा उनीहरू सुरूमा एकाएक सार्वजनिक स्थलमा नदेखिएर हराउँछन्।

गत वर्ष एक महिनासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि चिनियाँ विदेश मन्त्री छिन काङलाई पदबाट हटाइएको थियो।

गत वर्ष जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि छिन काङ सार्वजनिक रूपमा हप्तौंसम्म देखिएका थिएनन्। सुरूमा उनी स्वास्थ्यका कारण नदेखिएका भनिएको थियो। तर एक महिनापछि कुनै कारण नदेखाई उनलाई विदेश मन्त्रीबाट हटाइएको थियो।

छिन काङलाई विदेश मन्त्रीबाट हटाउँदा कुनै कारण नदेखाए पनि पार्टीका वरिष्ठ नेताहरूलाई भने ‘जीवनशैलीमा समस्या’ भएकाले हटाइएको भनेर ब्रिफिङ गरिएको थियो भनेर पश्चिमा मिडियाहरूले लेखेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीले यौनजन्य विचलनलाई ‘जीवनशैलीमा समस्या’ भन्ने गर्छ। छिन काङको विवाहेत्तर सम्बन्धका कारण उनलाई विदेश मन्त्रीबाट हटाइएको चर्चा चलेको थियो। त्यतिबेला उनलाई विदेश मन्त्रीबाट हटाइए पनि पार्टीको पदबाट हटाइएको थिएन।

कम्युनिस्ट पार्टीले उनलाई पछि केन्द्रीय सदस्यबाट पनि हटाएको थियो। छिन काङलाई हटाउनेबारे यो वर्ष जुलाईको सुरूमा भएको पोलिटब्युरो बैठकमा सल्लाह भएको थियो। पछि केन्द्रीय समितिको चार दिने तेस्रो प्लेनरी सत्रले सो निर्णय पारित गरेको थियो।

कम्युनिस्ट शासन भएको चीनमा शक्तिशाली पदबाट हटाइएका नेताहरूलाई भ्रष्टाचार वा अरू कुनै अभियोग लगाएर जेल हाल्ने गरिन्छ। तर हटाइएको निर्णयमा उनले राजीनामा दिएको जनाइएको र उनलाई कमरेड भनेरै सम्बोधन गरिएकाले पार्टीबाट भने ननिकालिएको अनुमान गरिएको थियो।

पछि ५८ वर्षीय छिन काङलाई घटुवा गरेर विदेश मन्त्रालय अन्तर्गतको ‘वर्ल्ड अफेयर्स प्रेस’ मा निम्न ओहोदामा खटाइएको खुलासा भएको थियो।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस