धादिङ, असार १५ –२२ औँ राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति धादिङ, बेनीघाट रोराङ गाउँपालिका समिति तथा योङ कम्युनिस्ट लिग नेपाल (YCL), धादिङको संयुक्त आयोजनामा विशेष रोपाईं कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत आयोजित गरिएको थियो, जसमा स्थानीय किसान, युवा, महिला तथा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर (विवेक) थपलियाले धान दिवसको अवसरमा कृषकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै कृषि नै देशको मेरुदण्ड भएको बताउनुभयो। उहाँले उत्पादनमुखी कृषि प्रणालीको विकासका लागि गाउँपालिकाले विविध योजना अघि बढाइरहेको र किसानलाई सहुलियतपूर्ण सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको माध्यमबाट परम्परागत कृषि संस्कृतिको संरक्षण, कृषिप्रति सम्मान र युवाहरूलाई कृषिमा आकर्षण गराउने उद्देश्य लिइएको थियो। सहभागीहरूले खेतमा रोपाईं गर्दै कृषि कर्मप्रति एकता, श्रम र उत्सवको भावना प्रस्तुत गरे।
बक्ताहरूले कृषि क्षेत्रमा आत्मनिर्भरता, बीउ प्रविधिको विकास, भूमिको संरक्षण, किसान अनुदानको पारदर्शिता तथा सहकारी प्रणालीको सुदृढीकरणमा जोड दिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि किसानमुखी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |