काठमाडौँ ११,माघ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हश्मीले सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा माननीय मन्त्रीज्यूले नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रहँदै आएको चर्चा गर्नुभयो ।
यसै क्रममा मन्त्री भण्डारीले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भन्सार सहजीकरण, लजिस्टिक व्यवस्थापन र पारवहन सुविधाको विविधीकरणमा संयुक्त सहकार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो ।
साथै सीटीसी चियाको पाकिस्तानमा पुनः निर्यात सुरु भएकोमा खुशी व्यक्त गर्दै व्यापार प्रक्रियालाई थप सहज बनाउन गुणस्तर मापदण्डहरूको पारस्परिक मान्यताको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली निर्यात कर्ताहरूले पाकिस्तानमा वस्तुहरू निर्यात गर्ने क्रममा देखिएका समस्याहरू समाधान गर्न र निर्यात प्रक्रियालाई सहज बनाउने कार्यमा आवश्यक पहल गर्न राजदूत हश्मीलाई विशेष आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपालको विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्दै नेपालले लगानीमैत्री वातावरण निर्माणमा गरेका प्रयासबारे जानकारी गराउनुभयो ।
राजदूत हश्मीले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन कूटनीतिक, आर्थिक, सामाजिक सुधारर सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी र शिक्षा लगायतका क्षेत्रमा सहकार्य बढाउन उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
साथै, नेपाल र पाकिस्तानवीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालबाट चिया, अलैंची र कफी लगायतका वस्तुको आयातको संम्भावना रहेको बताउदै Mt. Everest To Mt. K2 Circuit मार्फत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय उल्लेख गर्नुभयो ।