धादिङ — ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा एक विशेष टोलीले विभिन्न स्थानमा स्थलगत निरीक्षण, अनुगमन तथा कार्ययोजना निर्माण गरेको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न यो निरीक्षणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखहरू, सडक डिभिजन कार्यालयका प्रतिनिधिहरू, सडक निर्माण कम्पनीका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु तथा जिल्ला ट्राफिक प्रमुखको सक्रिय सहभागिता रहेको थियो।
अनुगमन टोलीले सडक दुर्घटनाको जोखिम रहेका स्थानहरूको अवलोकन गर्दै तत्काल सुधार गर्नुपर्ने विषयहरूमा छलफल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। साथै, कार्यक्षेत्रमा रहेका निकायहरूलाई जिम्मेवारी बोध गराउँदै आवश्यक निर्देशन पनि दिएका थिए।
प्रमुख जिल्ला अधिकारीले बताएअनुसार, “जनताको ज्यान र सुरक्षालाई पहिलो प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने, सडक सुरक्षाका उपायहरूलाई प्रभावकारी बनाउने र सडकमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ठोस कदम चालिनेछ।”
सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै अवलोकन टोलीले स्थानीय तह, निर्माण कम्पनी तथा सुरक्षा निकायहरूबीच समन्वय गरेर तत्काल सुधार गर्नुपर्ने स्थानहरूमा आवश्यक काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमपछि जारी विज्ञप्तिमा यात्रु तथा सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न अपिल गर्दै “तपाईंको यात्रा सुरक्षित, सहज र सुखद रहोस्” भन्ने सन्देश दिइएको छ।