गजुरी गाउँपालिकाको आयोजनामा “आर्थिक समृद्धिको आधार लघु उद्यम विकासमार्फत रोजगार तथा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)” अन्तर्गत १ दिने वडा-स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको उद्देश्य स्थानीय स्तरमा लघु उद्यम विकास सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आत्मनिर्भरता र आर्थिक समृद्धिमा टेवा पुर्याउने रहेको थियो। कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, स्थानीय उद्यमी, युवा, महिला समूहका प्रतिनिधि, तथा अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा MEDPA कार्यक्रमको अवधारणा, लक्ष्य, कार्यान्वयन प्रक्रिया, उद्यम सुरु गर्न आवश्यक सिप तथा सहयोग प्राप्त गर्ने विधिबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै दुना–टपरी जस्ता पारम्परिक लघु उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन। उहाँले यस्ता उद्योगहरूले महिलालाई स्वरोजगारमा जोड्ने र वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्ने भएकाले गाउँपालिकाले आवश्यक प्रविधि, तालिम तथा बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाले आगामी दिनमा पनि लघु उद्यमको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना र गरिबी निवारणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।