धादिङ — नीलकण्ठ नगरपालिकाको आयोजनामा दोस्रो युवा सीप तथा रोजगार मेला शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “युवासँग उपप्रमुख” कार्यक्रम अन्तर्गत सम्पन्न उक्त मेलाले स्थानीय युवामा आत्मनिर्भरता, सीप विकास र रोजगारीका सम्भावनाहरू उजागर गर्ने उद्देश्य लिएको थियो।
कार्यक्रमको उद्घाटन नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले गर्नु भयो। उद्घाटन समारोहमा बोल्दै प्रमुख ढुंगानाले नीलकण्ठ नगरलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सीपयुक्त, उत्पादनमुखी र स्वरोजगारमा आधारित समाज निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख दिपक विश्वकर्माले गर्नुभयो। उहाँले मेलाको मुख्य उद्देश्य “यहाँ काम गर्न सकिन्छ, कमाउन सकिन्छ” भन्ने आत्मविश्वास युवामा भरिदिनु हो भन्दै, आफ्नै गाउँठाउँमा अवसर सिर्जना गर्न सीप विकास अत्यन्तै आवश्यक रहेको उल्लेख गर्नुभयो।
मेलामा नगरका विभिन्न वडाबाट आएका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सीप विकास, प्राविधिक तालिम, स्वरोजगार योजना, व्यवसायिक परामर्श लगायतका जानकारीमूलक सत्रहरू सञ्चालन गरिएका थिए।
विभिन्न तालिम केन्द्र, निजी रोजगारदाता संस्था, सहकारी तथा व्यवसायिक संघसंस्थाहरूले आफ्ना सेवा तथा अवसरहरू स्टलमार्फत प्रस्तुत गरेका थिए। मेलाले युवाहरूलाई आवश्यक सूचना, तालिम अवसर तथा रोजगारीसँग जोडिन सञ्जाल विस्तार गर्ने प्लेटफर्म प्रदान गरेको आयोजक पक्षले जनाएको छ।
मेलामा स्वरोजगार, आधुनिक कृषि, डिजिटल सीप, उद्यमशीलता र विभिन्न पेसागत तालिमहरूबारे प्रत्यक्ष जानकारी लिने अवसर सहभागी युवाहरूले पाएका थिए। साथै, नीलकण्ठ नगरपालिकाअन्तर्गत रहेका वर्तमान योजना र कार्यक्रमहरू पनि मेलामा प्रदर्शित गरिएको थियो।