धादिङ — केही वर्षअघि नेपाली काँग्रेसमा प्रवेश गरेका गजुरीका युवा नेता अजय भण्डारी पुनः आफ्नो पुरानो पार्टी नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। काँग्रेसमा हुकुमी शैली हावी भएको र निष्ठावान कार्यकर्ताको योगदान बेवास्ता गरिएको आरोप लगाउँदै उनले पार्टी परिवर्तन गरेका हुन्।
धादिङको गजुरीमा लामो समयदेखि समाजसेवा र युवापुस्तालाई राजनीति प्रति आकर्षित गराउने अभियानमा सक्रिय रहेका भण्डारी तरुण दल धादिङका प्रभावशाली नेता समेत रहिसकेका थिए। नेपाली काँग्रेसप्रति ठूलो आशा र भरोसा राखेर प्रवेश गरे पनि भित्रको गुटबन्दी, अपारदर्शी निर्णय प्रक्रिया र नेतृत्वको निरंकुश शैलीले आफूसहित धेरै कार्यकर्ता निराश भएको उनले बताए।
उनले भने, “काँग्रेसमा योगदान दिने कार्यकर्ताको सम्मान हुँदैन, हुकुमी शैलीमा पार्टी चलिरहेको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर हुन्छ।”
आज आयोजित विशेष कार्यक्रममार्फत भण्डारीलाई औपचारिक रूपमा माओवादी केन्द्रमा स्वागत गरिएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलले पार्टीमा स्वागत गर्दै भण्डारीको निर्णयलाई साहसी र सकारात्मक भनेका थिए।
कार्यक्रममा बोल्दै जम्कटेलले भने, “अजय भण्डारीजस्तो जनताको भावना बुझ्ने अनुशासित र संघर्षशील युवा नेताको आगमनले माओवादी केन्द्र थप सशक्त र जनमुखी हुनेछ।”
भण्डारीले अब पार्टीको नीति, कार्यक्रम र विचारधारालाई आत्मसात गर्दै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म जनताको सेवा र विश्वास जित्न समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।