गजुरी गाउँपालिका वडा नम्बर ३ स्थित पुराक्सिङमा रहेको बगेश्वोरी आधारभूत विद्यालयमा समाजसेवी बासुदेव सुबेदीको पहलमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण भएको छ।कार्यक्रममा ट्रयाक सेट, झोला, कापी, कलम, रुमाल, बोतल आदि सामग्री वितरण गरिएको थियो।
यस कार्यक्रमका लागि गणेशमानसिंह स्मृति बहुप्राविधिक शिक्षालयका प्रमुख डाकुरनाथ पराजुली र लाइन्स क्लब अफ काठमाडौं फेलोसिफ परिवारले विशेष सहयोग गरेका थिए।
सोही अवसरमा समाजसेवी बासुदेव सुवेदीले सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै कार्यक्रमको सफलतामा स्थानीय समुदायको समन्वय र सहकार्यको महत्वलाई उल्लेख गर्नुभयो।
कार्यक्रममा चेपाङ र तामाङ समुदायका २४ जना बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामग्री प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ की सदस्य राममाया बिकले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा डाकुरनाथ पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ब. चेपाङ, र विद्यालयकी प्रधानाध्यापक शान्ती पाठकले आ-आफ्ना मन्तव्य दिनुभएको थियो।
यो पहलले गरिब तथा पिछडिएका समुदायका बालबालिकालाई शैक्षिक यात्रा सहज बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |