गजुरी, धादिङ — बैशाख १९, २०८२ गजुरी गाउँपालिकाको आयोजना तथा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत गजुरी गाउँपालिका–४, नेवारबॉसमा बाँसका सामग्री बनाउने एक महिनाको तालिम सुरु भएको छ। तालिम २०८२ साल बैशाख १९ गतेदेखि सुरु भएको हो।
कार्यक्रमको उद्घाटन गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विशेष अतिथि कार्यपालिका सदस्य सन्तमान प्रजा रहनुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रशिक्षक, तालिमका सहभागीहरू र पालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले भने, “स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्न यस्तो तालिम महत्वपूर्ण हुनेछ। सिपयुक्त जनशक्ति तयार पारेर उद्यमशीलता अभिवृद्धि गर्नु नै हाम्रो प्राथमिकता हो। पालिकाले तालिम पश्चात उत्पादनलाई बजारसम्म पुर्याउने आवश्यक सहयोग गर्नेछ।”
तालिममा गजुरी गाउँपालिका भित्रका महिलाहरू, युवा र विपन्न समुदायका सहभागीहरूलाई बाँसबाट विभिन्न सामग्री—टोकरी, ,मुडा सामग्री आदि बनाउने सीप प्रदान गरिनेछ। प्रशिक्षकहरू मार्फत सैद्धान्तिक र प्रयोगात्मक दुबै खालका प्रशिक्षण दिइने बताइएको छ।
गजुरी गाउँपालिकाले यस किसिमका सिपमूलक तालिमहरूलाई प्राथमिकता दिँदै आएको छ। स्थानीय स्तरमा उत्पादन र बजारलाई जोडेर स्व–रोजगारी र आत्मनिर्भरता तर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।