धादिङ गजुरी।बागमती प्रदेश सरकारका निवर्तमान माननीय मुख्यमन्त्री श्री शालिकराम जम्कटेलको पहलमा आ.व. २०८१/०८२ को बजेटमार्फत विनियोजित रू. २५ लाखको लागतमा गजुरी गाउँपालिका वडा नं. ७ स्थित जैसिटारमा निर्माण भइरहेको शहीद शान्ति पार्कको अनुगमन गरिएको छ।
अनुगमन टोलीमा गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ, उपाध्यक्ष श्रीमती शर्मिला विसुराल, सम्बन्धित वडा अध्यक्षज्यूहरू, पालिका प्राविधिक टोली तथा स्थानीय जनसमुदायको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा अध्यक्ष श्रेष्ठले शहीदहरूको स्मृतिमा समर्पित यो पार्कले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, गुणस्तरीय निर्माणको सुनिश्चितता गर्न सबै सरोकारवाला पक्षहरूलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
स्थानीय बासिन्दाहरूले पनि पार्क निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा यसले सामाजिक मेलमिलाप, स्मृति संरक्षण तथा सार्वजनिक भेटघाट स्थलको रूपमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।